काठमाडौं– युद्ध अन्त्य गर्ने अन्तिम सम्झौतामा पुग्न अमेरिका र इरानबीचको पहिलो चरणको वार्ता ‘उत्साहजनक प्रगति’ का साथ सम्पन्न भएको छ । मध्यस्थकर्ता राष्ट्रहरू कतार र पाकिस्तानले अमेरिका र इरान दुवै पक्ष ६० दिनभित्र एक अन्तिम सम्झौतामा पुग्न ‘रोडम्याप’ तयार गर्न सहमत भएको जनाएका छन् । वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार दुवै देशले राजनीतिक निरीक्षणका लागि एक उच्चस्तरीय समिति गठन गरेका छन् । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले लेबनानमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने दिशामा ठूलो प्रगति भएको बताएका छन् । गत हप्ता हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयु) मा लेबनानसहित सबै मोर्चामा लडाइँ अन्त्य गर्ने र हर्मुजको जलडमरु पुनः खोल्ने प्रतिबद्धता समावेश छ । अराघचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तानी र कतारी मध्यस्थताले लेबनान युद्ध अन्त्य गर्न ठूलो प्रगति हासिल गरेको छ ।’ उनले अगाडि लेखेका छन्, ‘तेल र पेट्रोकेमिकल निर्यातमा लगाइएको प्रतिबन्ध हटाइएको छ, नाकाबन्दी अन्त्य गरिएको छ, केही रोक्का गरिएका सम्पत्तिहरू फुकुवा भएका छन् र इरानका लागि प्रमुख पुनर्निर्माण र विकास योजना सुरु गरिएको छ ।’ इरानी सञ्चारमाध्यमका अनुसार इरानका मुख्य वार्ताकारहरू स्विट्जरल्याण्डबाट फर्किसकेका छन्, जहाँ आइतबार वार्ता सुरु भएको थियो । अब पक्षहरूबीच प्राविधिक छलफल जारी रहनेछ ।
अन्तराष्ट्रिय


प्रतिक्रिया