काठमाडौं– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको आठ जना मन्त्रीले जवाफ दिएका छन् । जवाफ दिने क्रममा ‘श्रम संस्कृति पार्टी’को निरन्तर विरोधपछि बुधबारको बैठक १५ मिनेटका लागि स्थगित हुन पुग्यो । छलफलका क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जवाफ दिइसकेपछि श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राई साम्पाङले स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि, सांसद हर्क राईसहितका सांसदहरूले वेल घेराउ गरे । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सांसदका प्रश्नको उत्तर दिइन् । मन्त्रीले दिएको उत्तरमा चित्त नबुझेमा फेरि स्पष्टीकरण माग्न सकिने व्यवस्था छ । सोहीअनुसार सांसद राईले उद्योगमन्त्रीलाई प्रश्न सोधेका थिए । साम्पाङले, ‘सङ्गीत, खेलकुद र चलचित्रलाई पनि उद्योग मान्न सकिन्छ कि सकिँदैन ? सकिन्छ भने त्यस क्षेत्रमा कति बजेट विनियोजन गरिएको छ?’ भनी प्रश्न गरे । तर, स्पष्टीकरण दिने क्रममा मन्त्रीले यस विषयमा केही बोलिनन् । त्यसपछि सांसद साम्पाङले आफ्नो आसनबाट उठेर पुनः स्पष्टीकरण माग्ने प्रयास गरे । सभामुख अर्यालले स्पष्टीकरणमाथि स्पष्टीकरण सोध्ने व्यवस्था नभएको स्मरण गराए । सो क्रममा सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमिल्सिनाले जवाफ दिइरहेका थिए भने रास्वपा प्रवक्ता एवं सांसद मनिष झाले नियामावलीले गरेको व्यवस्था उल्लेख गर्दै ‘बालहठ’ नदेखाउन आग्रह गरे । सभामुखको पटक–पटकको आग्रहलाई सांसद साम्पाङले बेवास्ता गरेपछि बैठक स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
देश


प्रतिक्रिया