अर्थनीति

भारतको दादागिरी, चिया उद्योग ध्वस्त, सुहाङले छेडे बहस, मोदीलाई रवि–बालेनको फोन कहिले ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं–नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको चिया उद्योग भारतको नीतिगत कडाइका कारण बन्द हुने स्थितिमा पुगेको छ । नेपाली चियाको कुल निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा ओगट्ने भारतले अस्वाभाविक ढङ्गले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली उद्योगहरू संकटमा परेका हुन् । गत मे १ देखि भारतीय चिया बोर्डले चिया आयातसम्बन्धी लागू गरेको नयाँ निर्देशिका ‘स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिजर’ का कारण अहिले नेपाली चिया निर्यात ठप्प भएको छ । जसका कारण सबैभन्दा धेरै चिया उत्पादन हुने इलाम र झापाका उद्योगहरू बन्द हुने स्थितिमा पुगेका छन् । भारतीय बजारमा पुगिसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ भने समयमै निर्यात नहुँदा उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । जसका कारण ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले सोमबारदेखि उद्योग बन्द गर्ने निर्णय गरेको छ । यसरी एक्कासि उद्योगहरू बन्द हुँदा यसले चिया निर्यातमा मात्र नभएर उद्योगमा कार्यरत श्रमिक, चियापत्ती टिप्ने श्रमिकदेखि किसानसम्मलाई मर्कामा पारेको छ । यसबाट झण्डै ६० हजार रोजगारीमा प्रत्यक्ष वा परोक्ष रूपमा असर पर्ने देखिन्छ । यसलाई उदाउँदो नेपालको चिया उद्योगमा संकट मडारिन थालेको रूपमा विश्लेषण गर्न थालिएको छ । यो विषय केवल बजारको आयात–निर्यातमा सीमित नभएर दुई देशबीचको कुटनीतिक रणनीतिका रूपमा पनि हेरिएको छ । त्यसैले समयमै कुटनीतिक पहल मार्फत समस्या समाधान गर्न संसदमा समेत आवाज उठेको छ ।