देश

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय वार्तामा तीन सहमति

योहो संवाददाता

काठमाडौं—परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच नयाँ दिल्लीमा तीन सहमति भएको छ । दुई देशबिच सीमा, डुबान, बाढी नियन्त्रणदेखि ऊर्जा, जलस्रोत, विद्युत् प्रसारण लाइनलगायत विद्यमान संयन्त्र सक्रिय गराउने सहमति भएको छ । संयन्त्रहरू सक्रिय भएपछि दुई महिनामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने र पुनः द्विपक्षीय एजेन्डामा छलफल गर्ने सहमति भएको छ ।

विकास साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्र बलियो बनाउने सहमति छ । सकारात्मक संवाद भएको र विद्यमान संयन्त्रहरूलाई सक्रिय बनाउने सहमति बनेको परराष्ट्रन्त्री खनालले बताउनुभयो । संयुक्त राष्ट्रसंघको आगामी महासभाअघि नै जयशंकर नेपाल आउन सहमत भएका छन् । वार्तामा परराष्ट्रमन्त्री खनालसँगै कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारीलगायत सहभागी थिए ।

भारतीय पक्षबाट जयशंकरसँगै भारतीय विदेशसचिव विक्रम मिश्री, नेपालका लागि राजदूत नवीन श्रीवास्तव, भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान सम्बन्ध हेर्ने प्रमुख अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।