देश

चुनावी चर्चित ६ भिडन्त, ओलीको कीर्तिमानी खोस्दै बालेन, रेनु हराउन सोविता, हर्कलाई भाइरल वडाध्यक्ष भारी (भिडियोसहित)


काठमाडौं— दुवैजना प्रधानमन्त्रीको दाबेदार रहेको झापा–५ नै अहिलेका लागि सर्वाधिक चर्चामा छ । यहाँ चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र मेयर भएरै देश हल्लाएका बालेन शाह मैदानमा छन् । यही कारण यहाँको निर्वाचनले राष्ट्रिय राजनीतिमा नयाँ तंरग पैदा गरेको छ । ओली यहाँ सहभागी भएका ७ मध्ये ६ निर्वाचन जितेर कीर्तिमानी बनाएका पात्र हुन् । उनको यो यात्रामा ब्रेक लगाउने आँट बालेन शाहले गरेका छन् । यतिमात्रै होइन, ओलीसँग जितेर देशको प्रधानमन्त्री बन्ने योजनामा छन् । एमाले अध्यक्ष ओलीविरुद्ध भिड्न रास्वपाले बालेनलाई उभ्याएको छ ।
यो सँगै अर्काे रोचक पक्ष, विद्यार्थी राजनीतिबाट उदाएका रन्जित तामाङलाई नेपाली कम्युनिष्ट पार्टीले आफ्नो उम्मेदवार बनाएको छ । उनी अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष हुन् भने तत्कालिन माओवादी केन्द्रको झापा जिल्ला इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । झापाकै भूमिपुत्र पनि हुन् । मुख्यतः झापा–५ को यही त्रिकोणात्मक भिडन्तलाई चासोका साथ हेरिएको छ ।