काठमाडौं— आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वीकार गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन महिना अघिदेखि नै देश दौडाहामा छन् । १९ दललाई एकीकृत गरी नेकपा निर्माण गरेका प्रचण्ड आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा सन्तुलन मिलाउँदै प्रत्यक्षतर्फका उम्मेदवार चयनमा केन्द्रित भएका छन् । निर्वाचन आयोगले माघ ६ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउनुपर्ने तालिका सार्वजनिक गरेसँगै प्रचण्डले रफ्तार बढाएका हुन् । निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ तयारीमा जुटेका प्रचण्डले यसपटक आफ्ना रणनीतिक कदमहरू चालेका छन् । उनले आफ्नो पुरानो निर्वाचन क्षेत्र चितवन–३ छोरी रेनु दाहाललाई सुम्पिएका छन् भने आफू रुकुम पूर्वबाट निर्वाचन लड्ने तयारीमा छन् । भरतपुर महानगरपालिकाको मेयरका रूपमा सफल भइसकेकी रेनु दाहालले पदबाट राजीनामा दिएरै चुनावी मैदानमा होमिँदै छिन् । यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट जितेका प्रचण्डले आफ्नो राजनीतिक जीवनमा अस्थिर निर्वाचन क्षेत्र रोज्ने गरेका छन् । यसअघि रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट चुनाव लडिसकेका प्रचण्ड यसपटक विकासका आधारभूत पूर्वाधारको समेत अभाव रहेको रुकुम पूर्व पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । माओवादीको गढ मानिने यस जिल्लामा प्रचण्डको उम्मेदवारीले चुनावी माहोल तातिएको छ ।
देश


प्रतिक्रिया