काठमाडौं— देश आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिइसकेको छ । निर्वाचन आउन अब ५४ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्रता दिएको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका लागि तीनवटा रणनीति अपनाएको छ । यसै सिलसिलामा शुक्रबार सरकार र निर्वाचन आयोगबीच छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् । उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि विस्तृत विमर्श भएको छ । आचारसंहिता लागू गर्ने मितिका बारेमा आगामी केही दिनमै निर्णय हुने जनाइएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ को निर्वाचनका लागि तयार पारिएको आचारसंहिता कडाइका साथ लागू गर्ने दाबी गरेका छन् । प्रवक्ता भट्टराईका अनुसार पहिलो रणनीतिमा आचारसंहिताबारे प्रभावकारी प्रचारप्रसार गरिनेछ भने दोस्रोमा कार्यान्वयनमाथि स्वमूल्याङ्कन र स्वनियमनको विधि अपनाइनेछ । ‘आचारसंहिता उल्लङ्घन भएमा सुरुमा सचेत गराउने र अटेर गरेमा दण्डात्मक व्यवस्था गरिने’ आयोगको तयारी छ ।
देश


प्रतिक्रिया