देश

काठमाण्डौँ–६ बाट निर्वाचन लड्ने तयारीमा अब्दुस मियाँ


काठमाण्डौँ — नेकपा एमालेका नेता अब्दुस मियाँ आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौँ–६ बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन्। पछिल्लो संघीय निर्वाचनमा देशकै सबैभन्दा कम उमेरका उम्मेदवारमध्ये एक भएर चर्चामा आएका मियाँले पार्टीभित्र स्पष्ट विचार, प्रभावशाली प्रस्तुति र राष्ट्रिय मुद्दामा धारिलो उपस्थिति जनाएका छन् ।

मियाँको काठमाण्डौँ–६ केन्द्रित राजनीतिक सक्रियता पछिल्ला दिनहरूमा तीव्र बनेको छ। टेलिभिजन बहस, नीति संवाद, अन्तर्राष्ट्रिय मञ्च तथा युवा केन्द्रित अभियानहरूमा निरन्तर देखिँदै आएका मियाँलाई एमालेभित्र भविष्यको नेतृत्वका रूपमा हेर्ने गरिएको छ।

काठमाण्डौँ–६ लाई शहरी समस्या, रोजगारी, प्रविधि, सुशासन र युवा नेतृत्वसँग जोडेर हेर्ने मियाँले “राजनीतिलाई नाराबाट नीतिमा र व्यक्तिबाट संस्थागत सुधारतर्फ लैजानु आजको आवश्यकता हो” भन्ने दृष्टिकोण अघि सार्दै आएका छन्। उनको तयारीलाई स्थानीय पार्टी पंक्ति, युवा मतदाता र बौद्धिक वृत्तले चासोका साथ हेरिरहेको छ।

मियाँले काठमाण्डौँ–६ मा संगठन सुदृढीकरण, मतदाता संवाद र विषयगत एजेन्डा निर्माणलाई प्राथमिकतामा राख्दै नीतिमुखी र परिणाममुखी चुनावी रणनीति तयार गरिरहेका छन्। विशेषगरी रोजगारी सिर्जना, शहरी पूर्वाधार, डिजिटल सेवा, शिक्षा–स्वास्थ्य सुधार र सुशासन उनका प्रमुख एजेन्डा हुने संकेत देखिएको छ।

युवा पुस्ताको प्रतिनिधित्व, राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव तथा स्पष्ट वैचारिक धरातलका कारण अब्दुस मियाँको सम्भावित उम्मेदवारीले काठमाण्डौँ–६ को राजनीतिक प्रतिस्पर्धालाई नयाँ मोड दिने आँकलन गरिएको छ।