देश

एमालेमा भट्टाभट उम्मेदवार छनोट, ओलीदेखि चक्रे मिलन जस्ता धेरै एकल सिफारिस, पुरानाकै ताँती (भिडियोसहित)


काठमाडौं— आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेमा देशभरबाट धमाधम उम्मेदवार सिफारिस हुन थालेका छन् । निर्वाचन हुनेमा आशङ्का गरिरहे पनि एमालेले आन्तरिक तयारीलाई तीव्रता दिएको हो । मङ्सिरमा सम्पन्न ११ औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये अधिकांशको नाम तल्लो तहबाट टुङ्गिसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डु वा झापाबाट निर्वाचन लड्ने चर्चाका बीच झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत रूपमा एकल सिफारिसमा परेका छन् । बिर्तामोडमा सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकमा अरु कसैको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाइएको हो । ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका थिए । यस पटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको भन्दै क्षेत्रीय समितिले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको छ ।