देश

चुनाव भाँड्ने नयाँ खेल, बहसमा सर्वपक्षीय सरकार र संविधान संशोधन, जेनजी र गगनका साझा एजेण्डा (भिडियोसहित)


काठमाडौं— देश निर्वाचनमा होमिएका बेला निर्वाचन भाँड्ने अस्त्र प्रयोग हुन थालेको छ । दलहरूले निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसक्दा पनि तिनै राजनीतिक दलहरू निर्वाचन भाँड्ने खेलमा सक्रिय हुन थालेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’का संयोजक दुर्गा प्रसाईँ पनि यसमा अग्रसर देखिएका छन् । जेन–जी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रसाईँले राजसंस्था पुनःस्थापनाका लागि जनमत सङ्ग्रहमा जान प्रस्ताव गरिरहेका छन् । प्रसाईँसँग त्यस्तो के शक्ति छ, जसका कारण सरकार नै उनका माग सम्बोधनका लागि बेलाबेलामा वार्ता र छलफलमा बोलाइरहन्छ ? केही दिनअघि दुर्गा भगवतीको मूर्ति उपहार लिएर प्रधानमन्त्री कार्कीलाई भेट्न प्रसाई सिंहदरबार पुगेका थिए । यसपछि गत मंगलबार भएको अर्को भेट्नमा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भगवान गौतम बुद्धको मूर्ति उपहार दिएकी थिइन् । बेलाबेला पक्राउ परिरहने प्रसाईँ, कार्की नेतृत्वको पालामा पनि एक पटक पक्राउ परिसकेका छन् । आफ्ना मागका विषयमा सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी उनले दिइरहेका छन् । सरकार, आयोग र राजनीतिक दलहरू निर्वाचनका लागि सक्रिय हुँदा चुनावमा जान नसकिने तर्कले निर्वाचन हुनेमै अन्योल बढ्दै गएको छ ।