देश

ओलीको नयाँ संकट ः पार्टी फुटको जोखिम, रवि–कुलमान भारी पर्दै, प्रचण्ड–गगनको घेरा (भिडियोसहित)


काठमाडौं— बाहिरी आलोचना र आरोपका बीच कार्यकर्ताले भने एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई नै अनुमोदन गरे । यसपटक एमालेको महाधिवेशनमा उच्च लोकतान्त्रिक संस्कार देखिए पनि नेतृत्व भने परिवर्तन हुन सकेन । तर पनि ५६४ मत परिवर्तनकै पक्षमा देखिए, भलै निर्णायक बन्न सकेनन् । कार्यकर्ताले महाधिवेशनको वासिङ मेसिनबाट ओलीलाई निर्दोष सावित गर्न खोजे पनि नागरिकको मनस्पटलबाट भदौ २३ को कहालीलाग्दो घटना र त्यसपछिको हठ अझै लुप्त भइसकेको छैन । यस्तो अवस्थामा पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा ओलीले कैयन चुनौती खेप्नुपर्नेछ । सबैभन्दा पहिले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनु नै उनको मुख्य चुनौती हो । १९ पदाधिकारीमध्ये गोकर्ण विष्ट र योगेश भट्टराईले जित निकाले पनि उनीहरुले प्यानलको नभई व्यक्तिगत जितको प्रतिनिधित्व गर्दा पराजित पक्ष पेलिने जोखममा छ । त्यसको छनक ओलीले देखाउन थालिसकेका छन् । महाधिवेशन सम्पन्न भएकै दिन शपथ कार्यक्रममा प्रतिस्पर्धीहरुलाई सहभागी समेत नगराएका ओलीले त्यसकै भोलिपल्ट शुक्रबार नेता÷कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । जहाँ उनले व्यक्तिगत लाभका लागि हिरो नबन्न र पार्टीका निर्णयबारे व्यक्तिगत विचार नै नराख्न निर्देशन दिएका छन् । यो निर्देशन सरासर महाधिवेशनमा पराजित प्यानलतर्फ इंगित छ । पार्टी निर्णयभन्दा बाहेक दायाँबायाँ आफ्ना निष्कर्ष समेत व्यक्त नगर्न, मिडियामा त त्यस्ता कुरा बोल्दै नबोल्न निर्देशन दिए ।