देश

मधेशमा कांग्रेस–एमालेलाई धक्का, मधेशी दल एकढिक्का, सीके चार टुक्रा, भारतको माइक्रो मेनेजमेन्ट ? (भिडियोसहित)


काठमाडौं— मधेश आन्दोलन लामो यात्राबाट गुज्रियो । तर आन्दोलनको अगुवाइ गर्नेहरू ‘मधेशी जनताको मुक्तिको सूत्रधार हामी नै हौँ’ भन्ने भ्रममा रहिरहे, आफूलाई ‘मसिहा’ भनाउन रुचाए । जे हुनु थियो, त्यही हुँदै गयो । समय क्रममा मसिहाहरू नांगिँदै गए, भरोसाको बन्धन चुँडिँदै गयो । मधेश केन्द्रित दलहरू समयक्रमसँगै मधेशमा नै आश्रित बन्न पुगे । अहिले पनि जेनजी आन्दोलनका क्रममा मधेश प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि खल्बलिएको मधेशको राजनीति नयाँ मोडमा पुगेको छ । बुधबार ६ दलका ५६ जना सांसदको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मधेश प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई जसपा नेपालका १९, जनमतका १३, नेकपा (माओवादी केन्द्र)का ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी)का ७ सांसदको समर्थन छ । तर, शपथ लिएलगत्तै सोनल नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकार नैतिक र अंकगणितीय संकटमा परेको छ । सोनलले सरकारका लागि दाबी पेस गरेकै दिन जनमत पार्टीका दुई सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए, तर निर्वाचन आयोगले पार्टीलाई आधिकारिकता नदिँदा ती दुई सांसदको अवस्था हाल तटस्थ छ ।