काठमाडौं— सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवसमा सार्वजनिक विदा दिने निर्णय भएको बताए । उनकाअनुसार सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख र अन्य खर्च बापत ५ लाख गरी १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । घाइतेहरुको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकप्टर वा सवारी साधन उपलब्ध गराउने निर्णय भएको छ ।
दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले बताए । क्षति र ज्यादतीको उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्ने सैद्धान्तिक निर्णय पनि बैठकले गरेको छ ।
आन्दोलनका क्रममा निधन भएकाहरुको स्मरणमा जेन जी जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा निर्णयका लागि मन्त्रीपरिषद्मा पेश भएका सबै प्रश्तावहरू फिर्ता गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया