काठमाडौं—एकाएक उठेको जेनजी आन्दोलनले देशको राजनीति मात्र होइन, आम जनजीवन नै संकट प¥यो । नेपालीको मुख्य चाड दशैँ तिहारको मुखैमा देशमा चर्किएको आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनले आमनागरिकमा एक किसिमको भय र शंशयको अवस्था पैदा ग¥यो ।
तर असामान्य बनेको अवस्था क्रमशः सामान्य बन्दै जाँदा आइतबारदेखि बजारमा चहलपहल सुरु भएको छ । आइतबारदेखि जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ भने काठमाडौं उपत्यकामा पनि चहलपहल सुरु भएको छ । व्यापारिक क्षेत्र न्युरोड लगायतका व्यापारिक भवनहरु खुलेका छन् । यससँगै चाडबाड लक्षित किनमेलका लागि सर्वसाधारण मानिसहरुको भिड देखिन थालेको छ ।
आन्दोलनका कारण नागरिकले दैनिक जीवनमा असाधारण सास्ती भोग्नु परेको थियो, जसले गर्दा दशैंजस्तो महत्त्वपूर्ण पर्वको मुखमा अफ्ठ्यारो अवस्था व्यहोर्नु पर्ने भन्दै मानिसहरुमा चिन्ता बढेको थियो । तर, दुई दिनको जेनजी आन्दोलनपछि शून्यतामा आएको देशको अवस्था विस्तारै सहज बन्दै गएपछि नागरिकमा सकारात्मक आशा पलाएको छ ।
फलतः सोमबारदेखि देशभर सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसल सञ्चालनमा ल्याउन लागेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ८ गते नै सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया