आइतबार खग्रास ग्रहण लाग्दैछ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास अर्थात् पूरै ढाकिने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने छ । राति ११ : ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ भने राति ०१ : ४१ बजे ग्रहण सकिने छ । कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।
समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार काठमाडौँको आकाशबाट पनि चन्द्रग्रहण देखिने छ । यो २०८२ सालको पहिलो ग्रहण हो । आउँदो फाल्गुन १९ गते शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।
चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ।


प्रतिक्रिया