देश

विधान महाधिवेशनको भिडन्त ः ओली–विद्या पक्ष आमनेसामने, प्रतिवेदनमै काउन्टर, विद्यालाई प्रवेश निषेध (भिडियोसहित)


काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘थाँती’मा राख्ने निर्णयसँगै सुरु भएको विवाद विधान महाधिवेशनसम्म आइपुगेको छ । गत साउन ६ गतेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । यी तीन नेताका अतिरिक्त अन्य प्रतिनिधिले पनि महाधिवेशनमा आ–आफ्नो तवरबाट लिखित असहमति राख्ने तयारी गरेका छन् । यता, आफ्नो सदस्यता ‘पेन्डिङ’मा राखिएपछि पूर्वराष्ट्रपति भण्डारीले पनि महाधिवेशन प्रतिनिधिलाई लिखित अपिल गर्ने तयारी गरेकी छन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष भण्डारीलाई महाधिवेशनबाट टाढै राख्ने रणनीतिमा छ, जसकारण एमालेको अन्तरसंघर्ष झनै चर्किने निश्चितप्रायः छ । अध्यक्ष पदमा ओलीसँग पराजित भएपछिको भीम रावलको प्रकरणभन्दा अहिलेको परिस्थिति फरक रहेकाले भण्डारीको विषय सहजै साम्य हुने देखिँदैन । भण्डारी पक्षका नेता तथा स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको आरोप लगाएका छन् ।