काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति भने मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया