काठमाडौं— प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । भाद्रकृष्ण औँसीकै दिन छोराछोरीहरूले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्छन् । बुबा नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई स्वर्गीय बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ । यस अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।


प्रतिक्रिया