अर्थनीति

नेपालमाथि युरोपेली देशको वित्तीय प्रतिबन्ध, अर्थतन्त्रमा कस्तो असर ?, ‘ग्रे लिस्ट’को साइड इफेक्ट (भिडियोसहित)


काठमाडौं युरोपको प्रतिष्ठित नोर्दिया बैंकले नेपाललाई मुद्रा भुक्तानीसम्बन्धी भौगोलिक प्रतिबन्ध सूचीको उच्च जोखिमयुक्त तेस्रो मुलुकमा राखेको छ । विश्वका द्वन्द्वरत एवं राजनीतिक अस्थिरताले ग्रस्त अफगानिस्तान, हैटी, इरान, रुस, बुर्किना फासोसहित प्रतिबन्धित ३३ मुलुकभित्र नेपाल पनि परेको छ । वित्तीय अपराध, मुख्यतया सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नेपालले देखाएको कमजोरीका कारण युरोपेली संघ (ईयू) ले गत जुनमा नेपाललाई “उच्च जोखिमयुक्त तेस्रो देश” अर्थात् ‘ग्रे लिस्ट’मा राखेको थियो । जुन १६ मा जर्नलमार्फत सार्वजनिक गर्दै युरोपेली संसद् र परिषद्को छानबिनपछि यही अगस्ट ५ देखि यो निर्णय कार्यान्वयनमा ल्याइएको हो । ईयूअन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरूले उक्त प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ को ग्रे लिस्टमा परेको नेपाललाई ईयूले समेत ग्रे लिस्टमा राखेको हो । एफएटीएफले नेपाललाई गत वर्ष फेब्रुअरीदेखि ग्रे लिस्टमा राखेको छ । यसअघि सन् २०११ मा एफएटीएफको ‘ग्रे लिस्ट’मा परेको नेपाल, कानुन निर्माण गर्ने प्रतिबद्धतापछि सन् २०१४ मा बाहिर निस्किएको थियो । एफएटीएफपछि ईयूको समेत ‘ग्रे लिस्ट’मा पर्नु र ईयूले यसलाई कार्यान्वयनमा लगेसँगै वित्तीय क्षेत्रमा चिन्ता सुरु भएको छ ।