काठमाडौं— आइतबार काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ ओर्लिएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरे । ओलीलाई भदौ ३१ देखि असोज १ सम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ । तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन । दुईदिने भ्रमणका क्रममा मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र परराष्ट्र सचिवसँग पनि भेटवार्ता गरे । मिश्री साँझ सोल्टी होटलमा बसेको नेपाल–भारत सचिवस्तरीय द्विपक्षीय बैठकमा पनि सहभागी भएका थिए । बैठकमा दुवै देशका सचिवहरूले कनेक्टिभिटी, विकास, सहयोग र पारस्परिक हितका अन्य मामिलाहरूमा केन्द्रित रहेर नेपाल–भारत साझेदारीका विभिन्न पक्षहरूमा छलफल गरेका छन् ।
समाचार


प्रतिक्रिया