देश

रुपन्देही–३ : रास्वपाको उम्मेदवार कुर्दै कांग्रेस–एमाले, फिल्डमै खटिए नेता, मोर्चाको तयारीमा माओवादी (भिडियो)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) देखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकारसम्मको ध्यान रुपन्देही–३ को उपनिर्वाचनमा केन्द्रित हुँदा ठूला दलहरू गुमनाम जस्तै देखिएका छन् । आखिर रुपन्देही–३ को उपनिर्वाचनका लागि कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरू भित्रभित्रै के–कस्तो रणनीति बुन्दैछन् त ? वैकल्पिक शक्तिहरूको तयारीलाई नियालिरहेका कांग्रेस र एमाले, समीकरण गरेर जानेदेखि लिएर वैकल्पिक शक्तिलाई पन्छाउने उपायको खोजीमा देखिन्छन् ।

स्थानीय सरकारदेखि सङ्गठनसम्म बलियो पकड भएको ठूलो दल नेपाली कांग्रेस, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउँदा रास्वपाले तनहुँ खोसेपछि अहिले त्यसको बदला रुपन्देहीमा लिने दाउमा छ । महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्रको अध्ययनले नै रास्वपालाई प्रतिस्पर्धीको रूपमा देखाएको छ भने एमालेको चुनौतीभन्दा ‘घण्टी’बाट आफ्नो मत जोगाउन सके जितिने रणनीतिमा कांग्रेस छ । यसका लागि कांग्रेसमा ३४ वर्षदेखि सोही क्षेत्रमा विरासत खडा गरेका पूर्वमन्त्री बालकृष्ण खाँणलाई नै अघि सार्ने चर्चा छ । तर, खाँणको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा लम्बिँदा रुपन्देही कांग्रेस उम्मेदवार सिफारिसमै अल्मलिएको छ । खाँणको विकल्पमा प्रमोद यादव र रामचन्द्र ढकालको नाम पनि चर्चामा रहँदा कांग्रेसको बलियो मतदाता भएको रुपन्देहीमा उसले कसलाई अघि बढाउन चाहन्छ त ?

यता, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेल हुँदै महासचिव शंकर पोखरेलसम्मै कनेक्सन रहेको रुपन्देही कुनै बेला एमालेको गढ नै थियो । विष्णु पौडेलका लागि अहिले पनि अर्थ मन्त्रालयपछिको प्राथमिकता रुपन्देही–३ को उपनिर्वाचन नै बनेको छ । जहाँ खिमलाल भट्टराईलाई बालुवाटारले नै आश्वासन दिए पनि रुपन्देहीकै चर्चित व्यवसायी शशि पौडेलले पनि आफ्नो दौडधुप बढाइरहेका छन् ।

बाकि भिडियोसहित