देश

देशभर बढ्यो डेंगु संक्रमण, बागमतीमा उच्च दर, २४ वर्षीया युवतीको ज्यान गयो, लामखुट्टेबाट जोगिऔँ (भिडियोसहित)


काठमाडौं— पछिल्लो समय देशभर डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । संघीय राजधानी काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको छ । डेंगु संक्रमित भएर मंगलबार बेलुका टेकु अस्पतालमा भर्ना भएकी उनको अवस्था जटिल रहेकाले आईसीयूमा राखेर उपचार गरिएको थियो । तर उपचारको क्रममा भोलिपल्ट बुधबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । डेंगु संक्रमणबाट यस वर्ष मृत्यु भएको यो पहिलो घटना हो । मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२५ को सुरुवात अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन्, भने अहिलेसम्म ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकले देखाएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।