काठमाडौं— संसदीय समितिहरू पछिल्लो समय कानुन निर्माणमा देखिएका मतभेद सुल्झाउनेभन्दा पनि बाझाबाझ गर्ने थलो जस्ता बन्न थालेका छन् । त्यसमा पनि संख्यामा सानो भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसददेखि समिति बैठकसम्म आक्रामक रूपमा प्रस्तुत भइरहेको देखिन्छ । सोमबारको अर्थ समितिको बैठकमा पनि यस्तै दृश्य देखियो । रास्वपाका सांसद विराजभक्त श्रेष्ठ र समिति सभापति सन्तोष चालिसेबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ माथिको दफावार छलफलमा चर्काचर्की नै भयो । विधेयकले सूचना प्रविधि (आईटी) क्षेत्रलाई पर्याप्त ध्यान नदिएको भन्दै सांसद श्रेष्ठले प्रश्न उठाएपछि सुरु भएको बहस घोचपेचमा परिणत भएको थियो । सांसद श्रेष्ठले आईटी क्षेत्रलाई विधेयकमा समेट्न माग गरेका थिए । उनको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले विधेयकको सुरुवातमै ‘सूचना प्रविधि पार्क’ को अवधारणा समेटिएको र विधेयकले आईटी क्षेत्रलाई ध्यान दिएको दाबी गरे । अर्थमन्त्रीको जवाफपछि सभापति सन्तोष चालिसेले विषयलाई थप स्पष्ट पार्न खोज्नुका साथै सांसद श्रेष्ठ सोही विधेयकमाथि यसअघि भएको छलफलमा अनुपस्थित भएको भन्दै आक्रोशसमेत पोखे । सभापति चालिसेको टिप्पणीपछि आक्रोशित बनेका सांसद श्रेष्ठले आफूहरू कोरम नपुगेको अवस्थामा सहयोग गर्न मात्रै आएको बताउँदै सभापतिलाई अर्थमन्त्रीको जस्तो जवाफ नदिन चेतावनी दिए ।
देश


प्रतिक्रिया