Breaking

कैलाली कारागार घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुखलाई


काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् ।

गएराति एक जनाको मृत्यु भएको घटनालाई लिएर कैदीबन्दीहरूले कैलाली कारागार नियन्त्रणमा लिएका छन् । अहिले कैलाली कारागार नियन्त्रण बाहिर रहेको छ ।

सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएको स्रोतले जनाएको छ । १५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् ।

कारागारमा गएराति करिब ११ बजेतिर झडप भएको थियो । उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

झडपको विषयमा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।