राजनीति

कठोर ओलीसँग विद्याको सिंघौरी,मदनले नै रोजेको घरमा कार्यालय, बानेश्वरमा नयाँ च्यासल, भंगालमा भिड (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राजनीतिक पुनरागमनको यात्रामा पहिलो कदममै झट्का व्यहोरेकी विद्यादेवी भण्डारी अहिले सम्पर्क कार्यालयको तयारीमा छिन् । एमालेभित्र बहस र छलफल गर्नसमेत नपाइने भएपछि उनका विषयमा अब यही कार्यालयमा छलफल हुनेछ, जुन घरलाई २०४८ सालमा मदन भण्डारीले समेत काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालयका रूपमा प्रयोग गरेका थिए । हुन त मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि यस भवन भाडामा लिएको दाबी गरिएको छ, तर यो अब अर्को ‘च्यासल’ नै बन्ने अवस्था देखिन्छ । किनभने, भण्डारी समूहले पार्टी सदस्यता प्राप्तिको लक्ष्यलाई मदन भण्डारी फाउन्डेसनमा टेकेर ‘मदन भण्डारी र जबज’का गतिविधिहरूलाई तीव्रता दिने योजना बनाएको छ, जसको केन्द्र यही घर हुनेछ । यति मात्र होइन, अहिले सदस्यताबाट अलग राख्ने निर्णय भए पनि समर्थक संख्या बढ्दै गएको अवस्थामा एमाले पार्टी यही निर्णयमा अडिग रहन्छ भन्न सकिँदैन । फलतः पार्टीमा फर्कन प्राविधिक उपायबाट रोकिए पनि राजनीतिमा फर्कन कसैले रोक्न नसक्ने अवस्थाको फाइदा उठाउने खेलमा विद्या छिन् । यति मात्र नभई उनी निकट नेताहरू विधान महाधिवेशनमै बेग्लै दस्तावेज प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । यसले भण्डारी पहिलो चोटिमै ‘नकआउट’ नभएको पुष्टि गर्दा ओली पक्ष भने भंगालस्थित भण्डारी निवास जानेहरूलाई धम्काइरहेको एमालेका तल्लो तहका नेताहरू बताउँछन् ।