काठमाडौं— रुसबाट पेट्रोलियम पदार्थ आयात गरेर युक्रेन युद्धलाई सघाएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाई ३१ मा भारतबाट आयात हुने सामानमा २५ प्रतिशत करको घोषणा गरेका थिए । अगस्ट १ बाट लागू हुने गरी ट्रम्पले २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क घोषणा गरेपछि भारतले अमेरिकी निर्णयलाई अनुचित र अन्यायपूर्ण भन्दै कडा जवाफ फर्कायो । भारतले उक्त कदमलाई तर्कहीन धम्कीको संज्ञा दियो । उल्टो, अमेरिका आफैँले रुससँग परमाणु उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी उद्योगका लागि प्यालेडियम, मल र रसायन आयात गरिरहेको समेत भारतले सम्झायो । यसैबीच, रुसका लागि भारतीय राजदूत विनय कुमारले रुसी उप–रक्षामन्त्री जनरल अलेक्जेन्डर फोमिनसँग भेट गरी द्विपक्षीय रक्षा सहयोग बढाउने प्रतिबद्धता दोहो¥याएका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रक्षामन्त्री सर्गेई सोइगुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । डोभालले राष्ट्रपति पुटिनले वर्षको अन्त्यतिर भारत भ्रमण गर्ने तय भएको घोषणासमेत गरेका छन् ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया