काठमाडौं—आफूलाई बाघ सम्झने मेडिकल व्यवसायी दुर्गा प्रसाईं साढे तीन महिनापछि प्रहरी हिरासतबाट बाहिर निस्किएका छन् । उच्च अदालत, पाटनले ‘उनी तत्काल निर्दोष रहेछन् भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै सोमबार धरौटीमा छाड्ने आदेश दिएसँगै रिहा भएका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेको अभियोगमा चैत २८ गते भारतको असामबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । पक्राउपछि जिल्ला अदालत, काठमाडौंबाट पुर्पक्षका लागि थुनामा पठाइएका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको कसुरमा ३ लाख सहित कुल २८ लाख धरौटी तोक्दै रिहाइका लागि आदेश दिएको थियो । अदालतको आदेशसँगै सोमबार राति रिहा भएका प्रसाईंले आफू गणतन्त्र ल्याउनकै लागि छ महिना सैनिक हिरासतमा बसेको स्मरण गर्दै अहिले यही व्यवस्थाका कारण नेपाली नागरिक विदेशिन बाध्य भएको र देश तस्करको हातमा पुगेको आरोप लगाए । आफ्नो लडाइँका कारण परिवारले समेत दुःख पाएको बताउँदै उनले श्रीमती र छोराछोरीलाई बैंकिङ कसुरको मुद्दा लगाइएकोमा आक्रोश व्यक्त गरे । प्रसाईंले अब फरक ढंगले आफ्नो अभियानलाई अगाडि लैजाने बताएका छन् ।
देश


प्रतिक्रिया