अन्तर्राष्ट्रिय

इरान र रुसको तेल शक्ति, नकिन्न अमेरिकाको थ्रेट, भारत र चीनको ठाडो अस्वीकार, कर बढाउँदै ट्रम्प (भिडियोसहित)


काठमाडौं—‘अब की बार ट्रम्प सरकार’ ! सन् २०१९ मा अमेरिकाको टेक्ससमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा मात्र गरेनन्, चुनाव प्रचार नै गरिदिए । उक्त अभिव्यक्तिपछि मोदी आलोचित बने । यद्यपि, त्यसको एक वर्षपछि भारत ओर्लिएका ट्रम्पलाई मोदीले ‘नमस्ते ट्रम्प’को नारासहित भव्य स्वागत गरे । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा नमिठो हार व्यहोरेका ट्रम्प गत जनवरीमा दोस्रो पटक ह्वाइट हाउस कब्जा गर्न सफल भए । त्यही ट्रम्प सरकार अहिले प्रधानमन्त्री मोदीका लागि टाउको दुखाइको विषय बनेको छ । राम्रो सम्बन्धका बाबजुद अहिले ट्रम्पले मोदीलाई २५ प्रतिशत ‘कर उपहार’ दिएका छन् । शुक्रबारदेखि अमेरिकामा आयात हुने भारतीय सामानमा २५ प्रतिशत भन्सार कर लागू गरिएको छ । ट्रम्पले भारतले रुसबाट हतियार र तेल खरिद गरिरहेको भन्दै २५ प्रतिशत करका साथै जरिवानासमेत लगाउने चेतावनी दिएका छन् । ट्रम्प प्रशासन भारतले रुससँग ऊर्जा र सैन्य सामग्री खरिद नगरोस् भन्ने चाहन्छ ।