समाचार

गुण्डागर्दीमा संलग्न युवराज गुरुङ पक्राउ


काठमाडौं— गुण्डागर्दीमा संलग्न रहदै आएका ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको हो । गुरुङ पटक पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

प्रहरीका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए । २०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।