समाचार

रुसको भूकम्पले विश्व हल्लियो, इतिहासकै ठूलो ८.८ म्याग्निच्युड, दर्जन देशमा सुनामीको त्रास (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— बुधवार बिहान रुसको सुदूर तटीय क्षेत्र कामचात्स्की प्रायद्वीपलाई केन्द्रविन्दु बनाएर ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वे (युएसजीएस) का अनुसार उक्त भूकम्प नेपाली समय बिहान ४ बजेर ५४ मिनेटमा गएको थियो । रुसी भूगर्व निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै यो सबैभन्दा शक्तिशाली भूकम्प हो । पछिल्लो १० दिनयता सोही क्षेत्रमा निरन्तर भुइँचालो गइरहेको थियो । भूगर्भ वैज्ञानिकहरूले यसलाई विश्वकै छैटौँ शक्तिशाली भूकम्प भनेका छन् । तथ्याङ्कअनुसार, सन् २०१० मा चिली र सन् १९०६ मा इक्वेडरमा ८.८ म्याग्निच्युडका भूकम्प आएका थिए । कामचाट्कामै सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प आएको थियो । यो भूकम्प पृथ्वीमा आएको अहिलेसम्मकै ठूलो भूकम्प हो । यस्तै सन् २०१२ मा हिन्द महासागर क्षेत्रमा ८.६ म्याग्निच्युडको भूकम्प गएको थियो । कामचात्स्कीमा झन्डै सात दशकपछि दोस्रो पटक शक्तिशाली भूकम्प गए पनि यसबाट भएको भौतिक एवं मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । शक्तिशाली भूकम्पका कारण प्रशान्त महासागरीय क्षेत्रमा सुनामी आएको छ । सुनामीको सुरुवाती छालहरुले तटीय क्षेत्रमा छुन थालेका छन् भने उच्च जोखिम रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ ।