समाचार

तिब्बतबाट बगेर आउने ल्हेन्दे खोलामा ठूलो बाढी, भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा


काठमाडौं— चीनको तिब्बतबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार भएको वर्षाका कारण बाढी आएको अनुमान छ । बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यंलय रसुवाले जनाएको छ । सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदा जनधनको ठूलो क्षति पुगेको थियो । उक्त बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।