देश

रास्वपाको सदनमा ‘रेकर्ड ब्रेक’, आन्दोलन सभामुखले देखेनन्, ओली–देउवालाई छोएन, लेखकलाई हाईसन्चो (भिडियो)


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् अवरोधमा अर्को कीर्तिमान राखेका छन् । दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् । तर, उनीहरूको अवरोधका बाबजुद प्रतिनिधि सभाको बैठक चलिरहेको छ । सुरुमा रास्वपाले वेल घेर्ने र संसद्मै नाराबाजी गर्ने गरे पनि आफ्नो अवरोधको अर्थ नभएपछि राप्रपाकै बाटो, अर्थात् संसद् बहिष्कारमै रास्वपा अघि बढेको थियो । अहिले दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र बाहिरिन्छन् । रास्वपाको संसद् अवरोधको मुख्य कारण भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र यस विषयमा अधिकारसम्पन्न संसदीय छानबिन समिति गठनको माग हो । सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा एक छानबिन समिति बनाए पनि रास्वपाले त्यसलाई अस्वीकार गर्दै आएको छ ।