काठमाडौं — दुई तिहाइको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने नारा लगाउन छोड्दैनन् । तर, उनकै नाकमुनि एकपछि अर्को गर्दै मन्त्रीहरूका घुस काण्ड बाहिरिएका छन् । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमै मुछिएका कारण राजीनामा दिन बाध्य भए । सोही घुस काण्डमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको प्रमाण भेटिएको छ । राजीनामा दिएका मन्त्रीले रकम लिएका व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण फेला परेपछि श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा तानिएकी छन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी श्रेष्ठलाई अख्तियारले बुधवार कार्यालयमै बोलाएर बयान लिएको छ । मालपोत कार्यालय, कास्कीका प्रमुखको थमौति र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयान लिएको हो ।
देश


प्रतिक्रिया