समाचार

आज ४३औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


४३औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको स्मृति दिवस मनाउन लागिएको हो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि २०१६ जेठमा वीपी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि राजनीतिक नेतृत्व लिएका थिए । बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम पनि उनले अगाडि बढाएका थिए ।

वीपी स्मृति दिवसका अवसरमा कांग्रेस र कांग्रेसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाली साहित्यमा पनि बीपीको स्थान उच्च छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।