काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर सुरु गरेको ‘न्यायका लागि हस्ताक्षर’ अभियानमा नागरिकको उल्लेख्य सहभागिता देखियो । गत असार ७ गतेदेखि साउन २ गतेसम्म, अर्थात् २५ दिनको अवधिमा, देशभरबाट करिब २५ लाख नागरिकको हस्ताक्षर संकलन भएको रास्वपाको दाबी छ । साथै, यस अभियानका क्रममा ४६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको पनि पार्टीले जनाएको छ । रास्वपाले यस अभियानलाई सभापति रवि लामिछानेविरुद्ध ‘राज्यको प्रतिशोध’ स्वरूप अघि सारिएको मुद्दाविरुद्धको जनमतको प्रतिवाद भनेको छ । यो अभियान रास्वपाको केन्द्रीय कार्यालयदेखि प्रदेश तथा जिल्ला इकाइहरूमार्फत एकसाथ सञ्चालन गरिएको थियो । पार्टीले सामाजिक सञ्जाल, गाउँ–सहरमा टेबल राखेर र मोबाइल टोली परिचालन गरी हस्ताक्षर संकलन गरिरहेको छ । अब घरदैलो अभियानमार्फत तीन करोड नेपालीमाझ पुग्ने तयारी भइरहेको रास्वपाको भनाइ छ । अभियानका संयोजक दीपक बोहोराले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै आफूहरूले अदालतलाई दबाब दिन नभई सत्ता पक्षको नियतलाई उदाङ्गो बनाउन अभियान सुरु गरेको बताए ।
देश


प्रतिक्रिया