देश

ओलीका विरोधी माधव–वामदेवको अंगालो, हातहरु हतियार बन्छन्– वामदेव, कम्युनिस्ट एकता उद्देश्य (भिडियो)


काठमाडौं — शिरमा ढाका टोपी, आँखामा चस्मा अनि उस्तै रङको सर्ट । उमेर पनि उस्तै र पूर्वसहयोद्धा समेत । शुक्रबार राष्ट्रिय सभागृहमा माधवकुमार नेपाल र वामदेव गौतमले सासै फेर्न मुस्किल पर्ने गरी एकअर्कालाई बलियो अंकमाल गरे । अनुहारमा चमक झल्कियो, एकले अर्काको पिठिउँमा थपथपाए । लामो समयपछि घनिष्ठ मित्र भेटिएजस्तो देखिन्थ्यो यो दृश्य । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीच भएको एकताको । आफूमाथि भ्रष्टाचारको मुद्दा र पार्टीको कमजोर अवस्थाका बीच गौतमलाई भित्र्याउ पाउँदा नेपाल निकै उत्साहित देखिन्थे । यता, गौतममा पनि खुसीको पारो तत्कालै आन्दोलन हाँक्न तयार भएजस्तो देखिन्थ्यो । उनले नेकपा (एस)मा तेस्रो वरीयता पाएका छन् । घोषणा सभालाई सम्बोधन गर्दै गौतमले आफू सय वर्ष बाँचुन्जेल कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने बताए । त्यस्तै, आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको दाबी गरेका उनले आवश्यकता परे हातहरू हतियारका रूपमा प्रयोग हुने दरिलो प्रतिबद्धतासमेत व्यक्त गर्न भ्याए ।