Breaking

विद्याको आक्रामक ‘मूभ’, रोक्न ओली खेमा तम्सियो, देउवा–प्रचण्डको च्याखे दाउ (भिडियो)


काठमाडौं । एमालेको सक्रिय राजनीतिमा आक्रामक रूपमा होमिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्च महत्वाकांक्षासहित अघि बढिरहेकी छन् । पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदको प्रतिष्ठा नै दाउमा राखेर एमालेको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीलाई आफ्नो महत्वाकांक्षी योजनामा सफल हुन भने त्यति सजिलो छैन । ६४ वर्षीया भण्डारीले आगामी भदौमा हुने एमालेको नीति महाधिवेशनबाटै नेतृत्वमा दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद लागू गराएर अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न चाहे पनि उनका अगाडि चुनौतीका पहाड छन् ।

ओलीलाई भण्डारीको यो कदम मन नपरिरहेका बेला उनैसँग पौँठेजोरी खेल्दै ओलीपक्षीय नेताहरूलाई पन्छाएर आफ्नो धरातल बलियो बनाउनुपर्ने पहिलो चुनौती भण्डारीसामु छ । आफू सहभागी नभई आफ्नो अनुकूलको नीति महाधिवेशन बनाउनुपर्ने अवस्थामा रहेकी उनले यसलाई सामना गर्नुपर्ने बाध्यता छ । नीति महाधिवेशनबाटै नेतृत्व दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद लागु गर्दै पार्टीको नेतृत्व लिने योजना बनाएकी विद्यालाई रोक्न अध्यक्ष ओलीले रणनीति बुनिरहेका छन् भने महासचिव शंकर पोखरेलजस्ता नेताहरू उनलाई रोक्न तत्पर देखिन्छन् ।

अध्यक्ष ओली र भण्डारी पक्षबीच तल्लो तहसम्म प्रतिस्पर्धा हुन थालेपछि महासचिव पोखरेलले पार्टीका विभिन्न फोरमहरूमा भावी नेतृत्वबारे बहस नगर्न निर्देशन दिँदै आएका छन् । तर, यी सबै अवरोधलाई चिर्दै २०८४ को निर्वाचनअघि नै एमालेको नेतृत्व लिने र उम्मेदवारको टिकट आफ्नै हातबाट बाँड्ने भण्डारीको तयारी देखिन्छ ।आफ्नो प्रतिष्ठा नै दाउमा लगाएर सक्रिय राजनीतिमा होमिएकाले उनी कुनै पनि हालतमा पछि हट्ने अवस्थामा छैनन् । जहाँ उनले भावी चुनौतीलाई कसरी पन्छाउने र आफ्नो योजनामा कसरी पुग्ने भन्नेबारे पक्कै पनि मनन गरेकै हुनुपर्छ ।

अध्यक्ष ओलीको शैलीका कारण खुलेर बोल्न नसकेका नेताहरू भण्डारीको सक्रियतासँगै पार्टीभित्रको उकुसमुकुस तोड्दै उनलाई सहजीकरण गर्न थालेका छन् । नेताहरूले सार्वजनिक रूपमै पक्ष–विपक्षमा मत राख्ने र ओलीको कार्यशैलीमाथि हाक्काहाक्की प्रश्न उठाउन थाल्दा भण्डारीलाई सहज हुँदै गएको देखिन्छ ।

(बाकि भिडियोसहित)