संयुक्त अरब इमिरेट्स (यूएई)मा पहिलो पटक गायक कुमा सागर र लोकप्रिय ब्यान्ड ‘ख्वप ब्यान्ड’ले एउटै मञ्चमा सांगीतिक प्रस्तुति दिने भएका छन् । आगामी जुलाई २० मा आयोजना हुने ‘गोर्खा साँझ’ को तेस्रो संस्करणका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरी र उपसंयोजन अनिल गुरुङको संयोजनमा हुन लागेको कुमा सागरको प्रस्तुति हेर्न उत्साहजनक रूपमा टिकट बुकिङ भएको र भीआईपी टिकट लिनेहरूलाई थप सुविधा प्रदान गरिएको छ ।
कार्यक्रम संयोजक ठकुरीका अनुसार, प्रवासमा रहेका नेपालीहरूको सांगीतिक चाहनालाई पूरा गर्न यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम दुबईको प्रतिष्ठित अल नासर क्लबमा जुलाई २० तारिख (साउन ४ गते) दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ ।
कार्यक्रमका लागि प्रवेश शुल्क ५० दिराम तोकिएको छ । ‘कार्यक्रमको टिकट बिक्री धमाधम भइरहेको छ र दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ,’ संयोजक ठकुरीले भने, ‘यो केवल कन्सर्ट होइन, हाम्रो पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसर हो ।’
उनले पारिवारिक वातावरणमा मनोरञ्जन लिन चाहनेहरूका लागि भीआईपी टिकटको समेत व्यवस्था गरिएको जानकारी दिए । ‘अहिले कार्यक्रमको तयारी तीव्र बनाइएको छ । यहाँ परिवार भएकाले भीआईपी टिकट लिएर छुट्टै मनोरञ्जन गर्न पाउनुहुन्छ ।’ उनले भने ।
गायक सागर आफ्ना देशप्रेमले ओतप्रोत तथा भावनात्मक गीतहरूका लागि चिनिन्छन् भने ख्वप ब्यान्डले नेपाली मौलिकतालाई आफ्नो संगीतमा उतारेर छुट्टै पहिचान बनाएको छ । दुवै कलाकार टिम पहिलो पटक दुबईमा एउटै मञ्चमा देखिने हुँदा कार्यक्रम थप विशेष हुने अपेक्षा गरिएको छ ।
माउन्ट एभरेस्ट सुपरमार्केटको टाइटल स्पोन्सरसिपमा आयोजना हुन लागेको यो कार्यक्रमले यूएईमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर सांगीतिक र सांस्कृतिक एकताको सन्देश दिने विश्वास लिइएको छ ।


प्रतिक्रिया