समाचार

आज गुरुपूर्णिमा मनाइँदै


काठमाडौं – आज असार शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा मनाइदैछ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।

मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आज मनाइँदैछ ।