Breaking

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा

योहो संवाददाता

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको पक्राउविरुद्ध सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।

मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित उनकी पत्नी सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उनले पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रिट दायर गरेकी हुन् ।

रिटमा मिश्रलाई गैरकानुनीरूपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनाको म्याद थप्ने अनुमति दिइरहेको दाबी गरिएको छ ।

चैत १५ मा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएपछि त्यसैदिन मिश्र पक्राउ परेका थिए । समितिमा मिश्र सदस्य सचिवको जिम्मेवारीमा छन् ।

सारिकाले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधिवक्ता रमेश बडाल, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाएकी छन् ।