नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त भएको झण्डै एक महिना पछि स्टुअर्ट ल नेपाल आईपुगेका छन् । एसोशियट राष्ट्रदेखि टेष्ट राष्ट्रसम्मकै प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका अनुभवी प्रशिक्षक ‘ल’ को प्रशिक्षणमा नेपाली क्रिकेटले नयाँ छलाङ्ग मार्ने अपेक्षा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्यप्रशिक्षक स्टुअर्ट ‘ल’ लाई शनिबार एक्सपोज गरेको छ।
क्यानले यसअघि सामाजिक सञ्जालमार्फत नेपाली टिमको प्रशिक्षण जिम्मेवारी सुम्पिएको जनाए पनि शनिबार बिहान भने केन्द्रीय कार्यालय मूलमानीमा औपचारिक कार्यक्रम नै गरेर प्रशिक्षकमा नियुक्त गरेको हो । गत चैत १५ गते प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका उनी करिब एक महिनापश्चात नेपाल आएका हुन् । लय समाउन सङ्घर्ष गरिरहेको नेपाली टोलीको प्रशिक्षण सम्हाल्नु अघि नै उत्साहित देखिएका छन् । नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी उठाएका उनले आफ्नो लागि यो ‘न्यु च्यालेन्ज’ रहेको बताएका छन् ।
शुक्रबार राति नेपाल ओर्लिएका अष्ट्रेलियाका पूर्वक्रिकेटर लसँग क्यानले अप्रिल देखि लागू हुने गरी दुई वर्षका लागि सम्झौता गरेको छ । यस अघि उनले २०११ मा केही महिना श्रीलङ्काको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । २०११–१२ सम्म बङ्गलादेशको राष्ट्रिय टोली सम्हाल्दा एसिया कपको फाइनलसम्म पु¥याए ।
नौ महिनामै बङ्गलादेशी टोलीको प्रशिक्षकबाट अलग भएका उनी त्यसपछि भने अष्ट्रेलियाकै राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त भएका थिए । १८–१९ वेष्ट इण्डिज र २२ मा अफ्गानस्तानको टोलीलाई सम्हालेका उनीसँग ०२४ सम्म बङ्गलादेशको यू–१९ टोलीको प्राविधिक सल्लाहकारको रुपमा पनि काम गरेको अनुभव छ । त्यसपछि अमेरिकाको कमाण्ड सम्हाल जिम्मेवारी लिएका उनले २०२४ को टी –२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर–८ सम्म पु¥याएका थिए । जुन क्रममा पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।
सन् १९९४ देखि १९९९ सम्म पाँच वर्ष अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलिसकेका ५६ वर्षीय स्टुअर्टले खेलाडी जीवनमा ५४ एकदिवसीय म्याचमा एक शतक र सात अर्धशतक सहित एक हजार दुई सय ३६ रन बनाएका छन् । पहिले पनि नेपाल जस्तो टिमसँग काम गरिसकेकाले बोन्डिङ मिल्ने भएकाले प्रशिक्षकका रूपमा अनुभवी ल नै उपयुक्त ठानिएको क्यानका सचिव पारस खड्काको भनाई छ ।
सन् २०२४ को अक्टोबरमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेपछी अमेरिकी क्रिकेट बोर्डले बर्खास्त गरेपछि स्टुअर्ट नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका छन् । नेपाली टोली सम्हालेका स्टुअर्टलाई आईसीसी विश्वकप लिग–२ मा प्रदर्शन सुधार्ने जिम्मेवारी रहेको छ । आठ टोली सहभागी लिग–२ मा १२ खेल खेलेको नेपाल सातौं स्थानमा छ । यस्तै विभिन्न सिरिज र टी–२० विश्वकपमा छनोट हुने चुनौती नवनियुक्त प्रशिक्षक स्टुअर्टलाई छ ।
यसअघि क्यानले नेपालको प्रशिक्षकमा भारतीय मूलका मोन्टी देशाइलाई नियुक्त गरेको थियो । २०७९ माघमा नियुक्त भएका देशाइको सम्झौता २०८१ माघमा सकिएको थियो । उनको प्रशिक्षणमा नेपालले एसिया कप र १० वर्षपश्चात् टी–२० विश्वकप खेलेको पु¥याएका थिए । उनले नेपालको टिममा रहेर २ वर्ष काम गरिसकेपश्चात क्यानले नयाँ प्रशिक्षकको रूपमा ललाई नियुक्त गरेको हो । क्यानले मोन्टीसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली झण्डै दुई महिना मुख्य प्रशिक्षकविहीन बनेको थियो । एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति खोजेको क्यानले स्टअर्टलाई प्रशिक्षकको रुपमा छनौट गरेको थियो । आवेदन दिने अन्तिम मिति फेब्रुअरी २८ सम्म तोकिएको थियो । उक्त समयसिमा भित्र ७० जनाको आवेदन पर्दा १० जनाको सर्टलिस्टमा पर्दै अन्तरवार्ता बाट ल छानिएका थिए ।


प्रतिक्रिया