Breaking

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

योहो संवाददाता

काठमाडौं—भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लाग‍िएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।

उनलाई आज आसामको गुवाहिटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौं ल्याउने स्रोतले बतायो । झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत कुरेर बसिरहेका छन् ।

प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालको नामबाट सार्वजनिक एक विज्ञप्तिमा प्रसाईंले जीवन रक्षाका लागि आसाम प्रहरीमा पुगेर आफूलाई सुरक्षित नेपाल पठाइदिने भनेको दाबी गरिएको छ ।