Breaking

राजावादी आन्दोलनमा कति भयो भौतिक क्षति ?

योहो संवाददाता

काठमाडौं—राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये करिब पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत्र १५ गते काठमाडौंमा राजावादीहरूको प्रदर्शनीमा भएको हुलदङ्गाका कारण भएको क्षतिको ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको माग दाबी परेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार ११ वटा निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकम बराबरको बीमा दाबी परेको छ । यी कम्पनीमा ४३ वटा दाबी पेस भएको छ । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै दाबी भुक्तानी गरेको छ ।

शिखर इन्स्यारेन्समा १३ लाख २५ हजार रुपैयाँ बराबरको पाँच वटा माग दाबी परेको छ । जसमा यस कम्पनीले ४५ हजार रुपैयाँ दाबी भुक्तानी दिइसकेको छ । अन्य दाबी परेका १० कम्पनीहरूले भने हालसम्म भुक्तानी गरेका छैनन् । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा दाबी पेस परेको छ । यस कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको २ वटा बीमा दाबी पेस भएको छ । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार माग दाबी परेका छ भने नेको इन्स्योरेन्स कम्पनीमा ५२ लाख रुपैयाँ बराबरको परेको छ ।

दि.ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार, हिमालय एभरेष्ट इन्स्योरेन्समा १६ लाख ९५ हजार, आइजीआई प्रूडेन्सियलमा १४ लाख ६० हजार, शिखरमा १३ लाख २५ हजार नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

हुलदङ्गाबाट करिब दुई दर्जन गाडीमा क्षति पुगेको छ । मोटर बीमा (निजी) तर्फ १ करोड २९ लाख रुपैयाँ बराबरको २२ वटा दाबी पेस भएको छ । हुलदङ्गाबाट भएको क्षतिमा ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको १६ वटा सम्पत्ति बीमा दाबी पेस भएको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३७ लाख रुपैयाँ बराबरको ३ वटा र विविध बीमालेख अन्तर्गत भने १० लाख रुपैयाँ बराबरको २ वटा दाबी पेस भएको प्राधिकरणले जनाएको छ ।