राजनीति

कामु प्रधानमन्त्रीले शिक्षा समितिका सांसदहरूलाई बैठकमा बोलाए

योहो संवाददाता

काठमाडौं—कामु प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रतिनिधि सभाको शिक्षा समितिका सांसदहरूलाई बोलाएका छन् । शिक्षा विधेयकमा छलफल गर्न शिक्षामन्त्री र संसदीय समितिलाई आज दिउँसो ४ बजे बोलाएको कामु प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहमन्त्री पनि सहभागी हुने बताइएको छ । शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कामु प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।

कामु प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ । शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ। तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।

बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।