काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १८ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीका सबैभन्दा विश्वासिला र निकट पात्रमध्येका एक हुन् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल । बालेन्द्र शाहसँगको निकट सम्बन्धकै कारण उनी नेपाल सरकारका प्रवक्तासमेत छन् । पोखरेल शिक्षामन्त्री हुँदै सरकारको प्रवक्ता बनेयता विभिन्न विवाद र चर्चाको केन्द्रमा रहँदै आएका छन् । अहिले यिनै पोखरेल आफ्नै अपरिपक्व कार्यसम्पादन र कार्यशैलीका कारण सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा विवादित र अलोकप्रिय बन्दै गएका छन् । प्रधानमन्त्रीसँगको निकटताको आडमा पोखरेलले देखाएको स्वेच्छाचारिता र जनगुनासोको बेवास्ताका कारण उनीविरुद्ध दिनप्रतिदिन असन्तोषको आगो दन्किरहेको छ । प्रधानमन्त्री शाहले गरेका प्रत्येक निर्णयमा पोखरेलले आँखा चिम्लेर लालमोहर लगाइदिन्छन्, चाहे त्यो सही होस् वा गलत; जसले उनलाई सबैभन्दा आलोचित बनाइरहेको छ । यस्तै, उनले आफैँले गर्ने अधिकांश निर्णयहरू विवादरहित हुन सकेका छैनन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा गरिएको लापरबाहीदेखि लिएर आफूनिकटका व्यक्तिलाई सरकारी नियुक्ति दिलाउनेलगायत कयौँ विषयमा उनी विवादित बनिरहेका छन् । जसका कारण उनको लोकप्रियता दिनप्रतिदिन घट्दै गएको छ । अहिले अवस्था यस्तो बनेको छ कि, जहाँ–जहाँ शिक्षामन्त्री पोखरेल पुगिरहेका छन्, त्यहीँ सडकमा विरोध प्रदर्शनहरू भइरहेका छन् । केही दिनअघि चितवनबाट काठमाडौँ फर्किने क्रममा चितवनका संयुक्त विद्यार्थी संगठनहरूले पोखरेलविरुद्ध कालो झण्डा देखाएर विरोध प्रदर्शन गरे । त्यहाँ उनीहरूले ‘शिक्षामा लगाइएको कर खारेज र विद्यार्थी संगठनमाथिको प्रतिबन्ध हटाउन माग गर्दै पोखरेलविरुद्ध नाराबाजी गरेका थिए ।
देश


प्रतिक्रिया