समाचार

नेपाली कांग्रेसले स्थापना गर्यो ‘मानव सहायता कल्याण कोष’

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आज आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् ।

थापाका अनुसार कोषमा सुरुवातमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र स्कुल जानबाट बन्चित बालबालिकामा खर्च गरिने छ । कोषको रकम परिचालनका लागि नेपाल महिला संघका स्वयंसेवक खटाइने पनि उनले बताए । महिला संघका प्रतिनिधिहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने र सहयोग वितरणमा संलग्न हुने उनले बताए ।

तरुण दल लगायत इच्छुक अन्य स्वयंसेवकलाई पनि अभियानमा जोडिन उनले आह्वान गरेका छन् ।