देश

बालेन ः जसले भेटे उही उत्साही, व्यवसायीको समस्या ठाउँको ठाउँ समाधान, नतिजा दिन बद्लियो रणनीति (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा आफूले आफैँलाई नियमन गर्न बनाएका विभिन्न मापदण्ड तोडेर सम्बन्धित निकायहरूसँगको सक्रियता बढाउँदै सरोकारवालाहरूसँगको संवादमा जुटेका छन् । जसका लागि उनको सचिवालय पनि संवादका लागि लचिलो भएको छ । सरकार गठनको सुरुवाती तीन महिनासम्म कसैसँग नभेटेका प्रधानमन्त्री कामबाटै नतिजा दिने लक्ष्यका साथ अघि बढेका थिए । तर सरकारको ‘हनिमुन पिरियड’ सकिएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै आन्तरिक विवाद बढेर गएको छ भने सदनदेखि सडकसम्म आफ्नै सांसदहरूले कार्यशैलीमाथि प्रश्न उठाउन थालेका छन् । सुरुका दिनदेखि नै प्रतिपक्ष दलहरूले आलोचना गरिरहेकोमा पछिल्ला दिनमा चौतर्फी आक्रमण नै हुन थालेपछि दबाबमा परेका प्रधानमन्त्री शाहले आफ्नो रणनीति फेर्दै सरोकारवालाहरूसँगको भेटघाटलाई निरन्तरता दिन थालेका हुन् । त्यसो त चौतर्फी विरोध बढेपछि आफ्नै निर्णयहरूबाट पनि सरकार पछि हट्न बाध्य भएको छ । जसअनुसार सरकार स्वास्थ्य र शिक्षामा लगाएको ३ प्रतिशत समता कर हटाउने निर्णयमा पुगेको छ । प्रधानमन्त्री शाहले फेसबुकमार्फत जानकारी दिँदै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णय गरिएको उल्लेख गरेका छन् ।