समाचार

गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

योहो संवाददाता

काठमाडौं–काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका स्थायी वासिन्दाहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगल शाखामा उपचार गराउँदा भने सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ । दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने सम्झौतामा उल्लेख छ । केएमसी अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नगरवासीहरुले स्वास्थ्यबीमा, विपन्न, गरिब, गोकर्णेश्वर नगरपालिका र केएमसीको उपचार छुट गरेर मिर्गौलापीडितले १० लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने बताए ।

नगरपालिका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वरवासीलाई निशुल्क उपचार गराउने महानगरको लक्ष्य रहेको बताए । उनले वडास्तरमा रहेका स्वास्थ्यचौकी, नगर अस्पताल र आसपासका अन्य निजी अस्पतालको सहकार्यमा नगरवासीहरुलाई सहुलियतमा उपचार सेवा दिने व्यवस्था गरिएको जानकारी दिए । उनले हाल ३० करोड रुपैयाँ बराबरको लागतमा नगर अस्तपाल निर्माणधिन रहेको बताए ।

सम्झौताअनुसार उपचारमा आवश्यक पर्ने रगत उपलब्ध गराउन नगरपालिकाले सिफारिस गर्नेछ । रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्नेछ । सहुलियत प्राप्त गर्न सेवाग्राहीले उपचार सहुलियतका लागि निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमितका हकमा बीमा कार्ड पेश गर्नुपर्नेछ ।

उपचार सम्पन्न भएपछि अस्पतालले खर्च विवरण, बिल भरपाई, उपचार कार्ड, नगरपालिकाको सिफारिसपत्र तथा स्थायी बसोबास पुष्टि हुने कागजातसहितको विवरण स्वास्थ्य शाखामा पेश गरेपछि नगरपालिकाले ३० दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरिएको छ । सम्झौता साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहने जनाईएको छ । –न्युज एजेन्सी नेपाल