समाचार

नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवः ‘समयमै उपचार गरे बाथरोग निको हुन्छ’

योहो संवाददाता

काठमाडौँ — बाथरोगको रोकथाम र प्रारम्भिक चरणमै उपचार गर्नुपर्नेमा जोड दिँदै नेशनल बाथरोग सेन्टरले आफ्नो १३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको सो सेन्टरले बाथरोगप्रति जनचेतना जगाउनु नै उपचारको पहिलो खुड्किलो भएको जनाएको छ ।


वार्षिकोत्सव समारोहमा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं पूर्व राजदूत केदारभक्त माथेमाले स्वस्थ जीवनका लागि स्वास्थ्यसम्बन्धी सचेतना अपरिहार्य रहेको बताए । उनले बाथरोग वृद्धवृद्धामा मात्र नभई युवापुस्तामा समेत बढ्दै गएकाले यसप्रति सबै उमेर समूह सचेत हुनुपर्नेमा जोड दिए ।


सेन्टरका अध्यक्ष डा. विनीत वैद्यले बाथरोगलाई ‘मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने’ रोगको संज्ञा दिँदै लक्षण देखिनेबित्तिकै उपचार थाल्न आग्रह गरे । उनले बाथरोगका औषधिहरूलाई सरकारी स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्नुपर्ने माग पनि राखे । साथै, सो अवसरमा सेन्टरले ‘¥युमा फ्युजन नेटवर्क’ को समेत घोषणा गरेको छ ।


सेन्टरका प्रबन्ध निर्देशक डा. रोशन कक्षपतिले १३ वर्षअघि बाथरोगको उपचार र जनचेतनाको ठूलो अभाव रहेको स्मरण गर्दै अहिले सेन्टरले अनुसन्धान र उपचारमा उल्लेख्य प्रगति गरेको बताए । अध्यक्ष डा. वैद्यको नेतृत्वमा गरिएको अनुसन्धानले बाथरोगलाई सुरुवाती अवस्थामै पहिचान गर्न सकिने प्रमाणित गरेको उनको भनाइ छ ।


कार्यक्रममा कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोगसम्बन्धी जनचेतना फैलाउन आफ्नो ब्याण्डले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, सेन्टरका पोखरा शाखा प्रमुख डा. कृष्ण ढकाल र मानव संसाधन विभागकी पवित्रा कार्कीले जनचेतना नै बाथरोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको धारणा राखे ।


कार्यक्रममा सेन्टरमा लामो समयदेखि सेवा पु¥याउने कर्मचारी तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । ढिलो उपचार गर्दा मिर्गौला र फोक्सोजस्ता महत्वपूर्ण अंगमा क्षति पुग्ने र खर्चसमेत बढ्ने भएकाले बेलैमा सचेत हुन चिकित्सकहरूको सुझाव छ ।