देश

चारआनाको आशमा बसेका सुकुम्बासी थाके, बालेनको आश मारे, धमाधम छोड्न थाले होल्डिङ सेन्टर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— गत वैशाख १८ गते योहो टेलिभिजनको टिम कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास नेपालमा रहेको होल्डिङ सेन्टरमा पुग्दा सरकारले अपराधीलाई जस्तो व्यवहार गर्दै प्रवेशमा रोक लगाएको थियो । त्यसका बाबजुद होल्डिङ सेन्टरभित्र प्रवेश गरेको हाम्रो टिमले कैदीसरहको जीवन बिताइरहेका र मृत्युसँग लडिरहेका सुमवासी भेषराज दर्जीलाई भेटेको थियो । बिरामी अवस्थामै सरकारको शरणमा पुगेका उनले हामीसँग सकिनसकी भनेका थिए, ‘अस्पताल जाने पैसा छैन, सरकारले व्यवस्था गर्छु भनेको छ, कहिले गर्छ थाहा छैन ।’
तर उनको यो बिलौना न सम्पूर्ण राज्यशक्ति लगाएर उठिबास लगाएका प्रधानमन्त्री बालेन्द्र शाहले सुने, न त बालेनका कुनै मन्त्रीले नै सुने, न त हेरचाहको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले नै सुन्यो । उनलाई सयौँ जनाको भिडमा एउटै छानामुनि कैदीसरह राखियो । यसक्रममा न उनको स्वास्थ्यको ख्याल गरियो, न त खानपिनकै व्यवस्था राम्रोसँग गरियो । फलतः फोक्सोमा पानी जम्ने समस्याबाट ग्रसित दर्जीले हामीमार्फत सरकारलाई बिलौना गरेको एक महिनापछि बिहीबार वीर अस्पतालको बेडमा अन्तिम सास फेरे ।